छिल्लीकोटमा मालागेडीको बास्नै हरर

छिल्लीकोटमा मालागेडीको बास्नै हरर

चिया उत्पादनमा सुधार
Facebook
X
Email
Telegram

असोज कात्तिक महिना लागेपछि छिल्लीकोट गाउँ मालागेडीको बास्नाले मगमगाउन थाल्छ । सुगन्ध कोकिला जसलाई स्थानीय भाषामा मालागेडी भनिन्छ । मालागेडी सदाबहार रुख हो । नेपालको मध्यहिमालयदेखि सिक्किम, भुटान, मणिपुर र आसामको खासी पहाडसम्म मालागेडी पाइन्छ । नेपालमा यो विशेष गरी दाङ, रोल्पा, रुकुम, प्य्ठान र गोरखा जिल्लामा छ सयदेखि एक हजार ३६० मिटर उचाइमा पाइन्छ ।  यो रुख १५ मिटरसम्म अग्लो र पाँच फिटसम्म मोटो हुन्छ ।  सुगन्ध कोकिलाको फल, बोक्रा र काठ आर्थिक, सांस्कृतिक, पर्यावरणीय र औषधीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । 

मालागेडीको अर्थतन्त्र 

सुगन्ध कोकिलाको फल, बोक्रा र काठबाट सुगन्धित तेल निकालिन्छ, जुन अत्तर, साबुन, सिन्के धूप र अन्य सुगन्धित सामग्री बनाउन प्रयोग हुन्छ । यो तेलमा मिथाइल सिनामेट र सिनियोल जस्ता रसायन पाइन्छन्, जसले यसको सुगन्ध र औषधीय गुणलाई बढाउँछ । बिउबाट निस्किने फ्याटी एसिडमा लोरिक एसिड पाइन्छ, जुन सौन्दर्य प्रसाधन र औषधीय उत्पादनमा प्रयोग हुन्छ । 

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोट क्षेत्रमा मालागेडीको व्यावसायिक खेती गरिँदै आएको छ । तुलसीपुर उपमहानगरपालिका–३ र ४ मा समेत किसानले यसको व्यावसायिक खेती सुरु गरेका छन् । यहाँका किसानले बर्सौंदेखि मालागेडीको खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै आएका छन् । एउटा रुखले उमेर अनुसार दुई सयदेखि तीन सय केजी फल उत्पादन गर्न सक्छ । बिरुवा रोपेको पाँच/सात वर्षमा उत्पादन सुरु हुन्छ । अहिले मालागेडीको बजार मूल्य ७५ हजार प्रतिक्विन्टल रुपियाँसम्म पुगेको छ । स्थानीय व्यापारी मनवीर वलीका अनुसार छिल्लीकोट क्षेत्रबाट प्रत्येक वर्ष डेढ करोड रुपियाँभन्दा बढीको मालागेडी निर्यात हुने गरेको छ ।

सुगन्ध कोकिला संरक्षण तथा सम्वर्धन, बिरुवा उत्पादनका लागि छिल्लीकोटका किसानले गाउँमा मालागेडी रोप्ने अभियान चलाएका छन् । डिभिजन वन कार्यालय दाङले बिरुवा तयार पारी वितरणसमेत गर्दै आएको छ । किसान परवीर पुनका अनुसार मालागेडीको प्रतिबिरुवा दुई सयदेखि तीन सयसम्म बिक्री हुँदै आएको छ ।

सुगन्ध कोकिलाको संरक्षणमा तीन दशकदेखि सक्रिय तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटा खानीगाँउका परवीर पुनको बारीमा करिब दुई सय बोट मालागेडी छ । तिलबहादुर वलीले यस वर्ष मात्रै १४ क्विन्टल मालागेडी करिब १० लाख ५० हजार रुपियाँमा बिक्री गर्नुभएको छ । छिल्लीकोटकै किसान पूर्णबहादुर बुढाका अनुसार मालागेडीको प्रशोधन स्थानीयस्तरमै गर्ने उद्योग नहुँदा किसानले राम्रो मूल्य पाउन सकेका छैनन् । छिल्लीकोटको कालिक सामुदायिक वन क्षेत्रमा मालागेडीको जङ्गल नै रहेको छ । सामुदायिक वनका अध्यक्ष मञ्जित वलीका अनुसार करिब तीन सय बिरुवा वनक्षेत्रमा रहेको छ । कालिका र सिद्धेथरी सामुदायिक वनक्षेत्रमा मालागेडीको जङ्गल नै रहेको छ । सामुदायिक वनले समेत मालागेडीको फल बिक्री गर्दै आएको छ । त्यस क्षेत्रको राष्ट्रिय वनमा करिब पाँचदेखि छ हजारबिचमा मालागेडीका रुख रहेका छन् । 

डिभिजन वन कार्यालय दाङले २०७७ सालमा तुलसीपुर –१९, छिल्लीकोट क्षेत्रलाई मालागेडी पकेट क्षेत्र घोषणा गरेको थियो । सोहीबमोजिम सोही क्षेत्रमा एक हजार दुई सय मालागेडीका बिरुवा रोपण गरी संरक्षणसमेत गर्दै आएको छ । डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी टेकनप्रसाद आचार्यका अनुसार गत वर्ष निजी वनबाट एक लाख ३९ हजार ६२० केजी र राष्ट्रिय वनबाट एक हजार पाँच सय केजी गरी कुल एक लाख ४१ हजार ५१५ केजी मालागेडी निर्यात गरिएको थियो । राष्ट्रिय वनबाट निकासी गर्दा प्रतिकेजी १० रुपियाँ राजस्व लिने गरिएको छ । करिब आठ करोड बराबर मूल्यको मालागेडी निर्यात गरिएको थियो । 

सांस्कृतिक सम्बन्ध

नेपालको धार्मिक र सांस्कृतिक परम्परासँग सुगन्ध कोकिलाको सांस्कृतिक सम्बन्ध गाँसिएको छ । नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विषयका प्राध्यापक  श्रीधर शर्मा मजगैयाका अनुसार श्री स्वस्थानी व्रत कथामा आधारित कथनबमोजिम सतीदेवीको अङ्ग पतन भएर उत्पन्न भएको दुर्गन्धित वातावरणलाई सुगन्धमय बनाउन शिवद्वारा त्यस ठाउँमा मालागेडी रुखको उत्पत्ति गराएको विश्वास गरिन्छ । यसको फल र काठलाई पवित्र मानिन्छ । पूजाआजामा प्रयोग गरिन्छ । मालागेडीलाई सनातन परम्परामा चन्दन जस्तै पूजनीय मानिन्छ । छिल्लीकोट क्षेत्रमा कालिका मालिका मन्दिर छेउछाउ मालागेडीका रुख रोपिएका छन् । जसले धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछ । सुगन्ध कोकिलाको खाटमा सुत्ने, घरमा राख्नाले घरपरिवारमा शान्ति हुने विश्वास गरिन्छ ।  

मालागेडीको सुगन्धित धूप र तेललाई पूजाआजा, ध्यान र अन्य धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको सुगन्धले वातावरणलाई शान्त र पवित्र बनाउने विश्वास गरिन्छ । स्थानीय समुदायले मालागेडीको रुखलाई आफ्नो सांस्कृतिक पहिचानको हिस्साका रूपमा संरक्षण गर्दै आएका छन् । छिल्लीकोटका किसानले मालागेडी रोप्ने अभियानलाई सामुदायिक गर्वको विषय बनाएका छन् । जसले सांस्कृतिक संरक्षण र आर्थिक विकासलाई जोड्छ । 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »