राष्ट्रिय आयुर्वेद दिवस: विश्व स्वास्थ्यका लागि आयुर्वेद नवप्रवर्तनको अभ्यास र प्रवर्द्धन गर्ने समय
गल्याङ नगरपालिका–७ मालमामा सञ्चालन गरिएको दुई दिने जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारण लाभान्वित भएका छन्।
‘आयुर्वेदिक जीवनशैली अपनाऔं, दैनिक ४८ मिनेट योग गरौं, स्वस्थ रहौं, रोगको रोकथाम तथा नियन्त्रण गरौं’ भन्ने नारासहित सञ्चालित प्रशिक्षणमा १०० भन्दा बढी सहभागीहरूले सहभागिता जनाएका थिए।
प्रशिक्षण धवलागिरी आयुर्वेद औषधालयको आयोजनामा र स्थानीय घुम्टे युवा परिवारको सहकार्यमा सम्पन्न भएको हो।
प्रशिक्षणमा डा. रोयले विभिन्न योगासनहरूको अभ्यास तथा विधिहरू सिकाएका थिए। कार्यक्रममा उनले योग विज्ञानले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्ने बताए। योग, ध्यान र साधनाबाट मन, आत्मा र शरीरलाई एकसाथ जोड्न सकेमा मात्र मानव जीवन स्वस्थ, सुखी र आनन्दमय हुन्छ, उनले बताए।
प्रशिक्षणमा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी रोगहरूको लागि प्रयोग गरिने आयुर्वेद औषधिहरू पनि सहभागीहरूलाई वितरण गरिएको थियो।
घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले अस्वस्थकर खानपान, मानसिक तनाव र चिन्ताका कारण उत्पन्न हुने शारीरिक तथा मानसिक समस्याहरू कम गर्न योग प्रशिक्षण प्रदान गरिएको बताए।
प्रशिक्षण शिविरमा नेपाल भलिबल संघ जापानका सदस्य तथा संस्थाका पूर्व उपाध्यक्ष तुलवीर थापाले आर्थिक सहयोग गरेका थिए।
औषधालय व्यवस्थापन समिति सदस्य ललिता थापाले प्रशिक्षणलाई आयुर्वेद र योगको महत्वबारे आम सर्वसाधारणमा जनचेतना फैलाउने अभियानको रूपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको बताइन्।
वार्ड कार्यालयले स्थानीय समन्वयको भूमिका निर्वाह गरेको थियो।







