फेवातालमा हावाहुरी र हेलचेक्र्याइले बढ्दो जोखिम
लेखनाथ, जेठ १० गते। ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरूपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ।
डुङ्गा सैर, माछापालन, सिँचाइदेखि बिजुली उत्पादनसमेत हुँदै आएको फेवा यो क्षेत्रको परिचय, जीवनको आधार र अमूल्य सम्पत्ति त सावित भएको छ नै, भवितव्य र हेलचेक्र्याइँले यदाकदा कालसमेत बन्ने गरेको छ। वैशाख, जेठ महिनामा दिउँसो दिनहुँजसो चल्ने हुरी र हुने वर्षाले तालमा बारम्बार दुर्घटना हुने गरेका छन्।
तालबाट यो आर्थिक वर्षमा मात्र ३८ जनाको जीवित उद्धार गरिएको छ भने एक जनालाई मृत निकालिएको छ। सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्य तिमिल्सिना अघिल्लो वर्ष तालमा भएका दुर्घटनामा ७४ जनालाई जीवित उद्धार र छ जनाको शव निकालिएको उल्लेख गर्नुहुन्छ।
फेवामा बेला बेलामा ठुला दुर्घटना भएका थिए। २०१८ मा डुङ्गा पल्टिएर घाँस दाउरा काट्न हिँडेका १९ स्थानीयको ज्यान गएको थियो भने २०४३ मा वनभोज खाएर फर्किएका २१ जनामध्ये १८ को ज्यान गएको थियो। २०६१ मा डुङ्गा पल्टिँदा छ सुरक्षाकर्मीको मृत्यु भएको थियो।






