पनौती पर्खंदै पर्यटक
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो ।
हाँडीगाउँको मानेश्वरी, ललितपुरको हरसिद्धि, भक्तपुरको नवदुर्गा गण जस्ता सांस्कृतिक पर्व, परम्परा पनौतीसँग अन्तरसम्बन्धित छन् ।
नेवारी परिकार परम्परामा यःमरी उच्च स्थानमा छ । यःमरीको उद्भव स्थलसमेत मानिन्छ, पनौती । त्यहाँ यःमरीको स्तम्भ नै बनाइएको छ । त्यहाँका पाहुनाघरमा हरेक दिन यःमरी पाक्छ । बाह्रबर्से मकरमेलाले पनौतीलाई धार्मिक गन्तव्यका रूपमा समेत परिचित बनाएको छ ।
पनौतीवरपरका गाउँबस्तीले कृषि र पर्यटनमा उन्नति हुँदै छ । तिनै बस्तीको बिचमा पनौती छ । पनौतीवरिपरिका डाँडा यतिबेला रिसोर्ट र होटेलले भरिन थालेका छन् । कुशादेवी, शङ्खु, बल्थली, चामखर्कका गोरेटा, देउराली, भन्ज्याङ र चौतारीमा पर्यटक देखिन थालेका छन् । पनौतीनजिकै पूर्वतर्फको अर्काे पर्यटकीय केन्द्र हो, नमोबुद्ध । बौद्ध धर्म सम्प्रदायका लागि मात्र होइन; आममानिसका लागि घुम्नैपर्ने स्थलका रूपमा रहेको छ, नमोबुद्ध ।
त्यहाँबाट श्यामपाटी हुँदै थोरै पूर्वतिर अघि बढ्दा दाप्चाबजार पुगिन्छ । पुरानो व्यापारिक थलोका रूपमा रहेको दाप्चा कोटकिल्ला, पुरातात्त्विक सम्पदा र संस्कृतिले भरिपूर्ण छ । पहाडको टापुमा नेवार बस्ती, पुरातात्त्विक मठमन्दिर, जात्रापर्व, नेपाली शैलीका पुराना घर नै दाप्चाको परिचय हो; जहाँ घुम्नका लागि हिजोआज मनग्गे पर्यटक पुग्ने गरेका छन् । फुर्सद भयो कि दाप्चा पुग्ने पनौतीका फोटो पत्रकार प्रशान्त श्रेष्ठ भन्नुहुन्छ, “दाप्चा पुगेपछि बन्दीपुर बिर्साउँछ ।”
पनौती र मकरमेला पर्याय जस्तै लाग्छ । हरेक १२ वर्षमा मकरमेला लाग्छ । आध्यात्मिक तथा धार्मिक दृष्टिले पनौतीको त्रिवेणीघाटमा उत्तर प्रयागका रूपमा प्रत्येक १२ वर्षमा माघमा एकमहिने मकरमेला लाग्छ । पनौतीको वास्तविक नाम ‘पन्ती’ भएको जानकारको भनाइ छ । पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ती’ भनेको राख्नु वा गाड्नु हो । अपभ्रंश हुँदै त्यसको नाउँ पनौती हुन गएको अध्यक्ष कर्माचार्यको बुझाइ छ ।
नेपाली भाषामा पला=पाइला र ती=राख, यसको पूर्ण अनुवाद ‘पाइला राख’ भन्ने हुन्छ । मल्लकालमा काठमाडौँ तथा रोसी उपत्यकाका मानिसमा पुण्यभूमिमा पाइला टेके मोक्ष प्राप्त हुने विश्वास अनुसार यहाँ पाइला राख्न आग्रह गर्ने हेतुबाट तत्कालीन मल्ल राजाले स्थानको नाम नै ‘पलाती’ राखेको किंवदन्ती छ ।
सम्पदाका हिसाबले त्रिवेणीघाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर पनौतीमा छन् । पनौती जात्रा, गाईजात्रा, नमोबुद्धजात्रा, घण्टाकर्ण, हरिसिद्धि, नवदुर्गा नाच, माधवनारायण पर्वले पनौतीलाई जात्राको सहरका रूपमा स्थापित गरेको छ । त्यसो त पनौतीमा पाटीपौवासमेत प्रशस्त छन् । पनौतीलाई पर्यटकीय सुन्दरता प्रदान गर्न पाटीपौवा, डबली, चैत्य, ढुङ्गेधारा, इनार, वनजङ्गल, खोलानाला, स्मारक, गुम्बा, विहारले ठुलो महत्त्व खेलेको छ ।
४० भन्दा बढी हिन्दु तथा बौद्ध मन्दिर र २८ भन्दा बढी ठुला चाडपर्व पनौतीमा छन् । पनौतीलाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदि नामले पुकारिन्थ्यो ।
पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूले हरेक १२ वर्षमा मकरमेला लाग्ने पनौतीवरपरका डाँडाकाँडामा महाभारतकालीन पञ्चपाण्डवले गुप्तबास बसेको पुष्टि हुने आधार भएको आफ्ना पुस्तकमा उल्लेख गर्नुभएको छ । द्रोपदा मन्दिर, सहुरानी वन, सलन्दु बगर मूर्त एवं अमूर्त सम्पदाहरू पनौतीवरपर रहेका छन् ।
भनिन्छ, भूकम्प नजाने सहर हो– पनौती । एउटै ढुङ्गामाथि अडिएको पनौतीलाई १९९० र २०७२ सालको भूकम्पले खासै असर गरेन । तथापि २०८१ असोज १२ को बाढीले पनौतीआसपासको क्षेत्र तहसनहस बनायो ।
खोजकर्ता बमबहादुर अधिकारीले मिथिलाका राजा जनक र कुशध्वजको शासनकालीन सभ्यता, सिम्रौनगढको तलेजुजात्रा, भक्तपुरको बिस्केटजात्रा र ललितपुरको हरिसिद्धिजात्राका संस्कृतिहरू पनौतीमा पाइने कुरा आफ्नो जर्नलमा उल्लेख गर्नुभएको छ ।






