दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

चिया उत्पादनमा सुधार
Facebook
X
Email
Telegram

खोटाङ, जेठ १० गते। खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न पश्चात शनिबार उद्घाटन गरिएको हो। 

प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालयको सशर्त बजेटबाट निर्माण गरिएको प्रि-स्ट्रेस्डे आरसिसि पुल कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभएको हो। 

सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले मुल्य अभिवृद्धि कर तथा पिएससहित ८ करोड २१ लाख ७२ हजार ८९४ मा पुल निर्माणको काम सम्पन्न गरेको हो। २०८२ वैशाख १० गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख ११ गते पुलको सम्झौता गरिएको थियो। 

खोटाङ बजार–चिसापानी सडक खण्डमा पर्ने सो पुल प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो। सो स्थानमा पक्की पुल नहुँदा स्थानीय झोलुङ्गे पुलमार्फत खोला वारपार गर्ने गरेका थिए। पक्की पुल बनेपछि खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र वराहपोखरी गाउँपालिकाका स्थानीय लाभान्वित भएका छन्। 

पुल उद्घाटन कार्यक्रममा वराहपोखरी गाउँपालिका अध्यक्ष शलिकराम बन्जारा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, खोटेहाङ गाउँपालिका उपाध्यक्ष रूपेश राई लगायतको उपस्थिति रहेको थियो। 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »